काठमाडाैं,१६ असाेज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमार्फत कुराकानी गर्दै संकटका बेला देखाएको साहस, धैर्य र सुझबुझको प्रशंसा गरेका छन्।
गम्भीर घाइते अवस्थामा समेत यात्रुको सुरक्षालाई प्राथमिकता दिएको भन्दै मोदीले क्याप्टेन स्मितप्रति भारतभर गर्व गरिएको बताए। उनले स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गर्दै देशका विभिन्न स्थानमा उनको स्वास्थ्यका लागि प्रार्थना र महामृत्युञ्जय मन्त्रको जाप भइरहेको जानकारी दिए।
‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ। तपाईंको साहस, धैर्य र सुझबुझले धेरै मानिसको ज्यान बचायो,’ मोदीले भने।
मोदीले आफू गम्भीर घाइते भएर जीवन–मृत्युको संघर्षमा रहँदा पनि स्मितले यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिएको बताए। उनको साहसिक निर्णयले देशको शिर उँचो बनाएको मोदीको भनाइ थियो।
कुराकानीका क्रममा क्याप्टेन स्मितले घटनाका बेला आफू लडेर गम्भीर चोट लागेको भए पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस गरेको बताए।
उनले आफू १७ वर्षदेखि विमान उडाउँदै आएको र पछिल्लो ११ वर्षदेखि क्याप्टेनका रूपमा काम गरिरहेको उल्लेख गर्दै विमानभित्रको अवस्था आफूलाई राम्रोसँग थाहा हुने बताए।
‘मलाई लाग्यो, यदि म उठिनँ र कुनै कदम चालिनँ भने अवस्था अझ खराब हुन्छ। म तल लडिरहेको बेला पनि विमानभित्रको अवस्था बिग्रँदै गएको महसुस भइरहेको थियो,’ उनले भने।
स्मितका अनुसार अन्तिम प्रयासस्वरूप उनले ककपिटको ढोका खोल्ने प्रयास गरेपछि अन्य व्यक्तिहरू पनि त्यहाँ पुग्न सकेका थिए। यस क्रममा अन्य व्यक्तिहरूले पनि महत्वपूर्ण सहयोग गरेको उनले बताए।
‘म आफ्नो ज्यान बचाउने प्रयास गरिरहेको थिएँ, तर त्यही समयमा मलाई थाहा थियो कि म ती मानिसहरूलाई मर्न दिन सक्दिनँ,’ उनले भने।
मोदीसँगको कुराकानीमा स्मितले पीडा हुँदा हनुमान चालिसा पाठ गर्ने गरेको बताए। भगवानकै कृपाले आफू बाँच्न सफल भएको उनको विश्वास छ।
उनले आफ्नो चोटलाई केवल घाउका रूपमा नभई क्रमशः निको हुँदै जाने यात्राका रूपमा लिएको बताए। आफू पूर्ण रूपमा स्वस्थ भएर फर्किनेमा विश्वस्त रहेको उनको भनाइ थियो।
मोदीले क्याप्टेन स्मितका बुवा भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको पनि उल्लेख गरे। उनले स्मितलाई राम्रो संस्कार दिएको भन्दै उनकी आमाको प्रशंसा गरे भने पत्नी सोनलबेनले देखाएको साहस र संयमको पनि सराहना गरे।
सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा स्मितको शीघ्र स्वास्थ्यलाभका लागि पूजाआजा भइरहेको जानकारी दिँदै मोदीले उनलाई स्वस्थ अवस्थामा फर्किएको हेर्न भारत प्रतीक्षारत रहेको बताए।
उनले स्मितको उपचार र हेरचाहमा सहयोग गरेकोमा साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारलाई धन्यवाद दिए। आवश्यक परेको अवस्थामा आफू सहयोगका लागि ‘एक फोनको दूरीमा’ रहेको मोदीले बताएका छन्।





