काठमाडौं,१६ असाेज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास र लगानीको वातावरण सुधार गर्न सरकारले विद्यमान कानुनमा आवश्यक संशोधन र सुधार अघि बढाएको बताएका छन्।
पूर्वाधार विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ : लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशालामा बोल्दै मन्त्री लम्सालले नागरिकमैत्री र परिणाममुखी कानुन निर्माणमा सरकार केन्द्रित रहेको बताए।
उनले राज्यको प्रणाली कानुनअनुसार सञ्चालन हुने भएकाले कानुनको गुणस्तरले नै त्यसको परिणाम निर्धारण गर्ने धारणा राखे। ‘ऐन देशको ऐना हो’ भन्दै उनले मुलुकको आवश्यकता र समसामयिक चुनौतीअनुसार कानुन परिमार्जन गर्नुपर्ने बताए।
मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा विभिन्न सरोकारवाला निकायबाट प्राप्त सुझावमाथि सरकारले अध्ययन गरेको जानकारी दिए। तर केही सुझावले आवश्यक नीतिगत परिवर्तन र सुधारलाई सम्बोधन गर्न नसकेकाले समेट्न नसकिएको उनले स्पष्ट पारे।
पूर्वाधार निर्माणलाई थप गतिशील, प्रभावकारी र पारदर्शी बनाउन कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले कार्यशालाले त्यसका लागि महत्वपूर्ण सुझाव दिने अपेक्षा व्यक्त गरे।
सरकारले कानुन निर्माण गर्दा कुनै बिचौलिया वा सीमित समूहलाई फाइदा पुग्नेगरी व्यवस्था नगर्ने उनको भनाइ थियो। उनले कानुनको मस्यौदालाई अक्षरशः अध्ययन गरी सार्वजनिक हित र नीतिगत आवश्यकतालाई प्राथमिकतामा राखेर उत्कृष्ट कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
सार्वजनिक खरिद ऐन संशोधनका क्रममा निर्माण व्यवसायी क्षेत्रबाट आएका सुझावबारे पनि उनले चर्चा गरे। ती सुझाव अध्ययन गर्दा सरकारले खोजेको नीतिगत दिशासँग मेल नखाएकाले समेट्न नसकिएको उनले बताए।
सरकारले पूर्वाधार क्षेत्रमा ‘पब्लिक सेन्ट्रिक’ अर्थात् जनकेन्द्रित नीति निर्माणलाई प्राथमिकता दिएको मन्त्री लम्सालले स्पष्ट पारे।




