काठमाडौं,१६ असोज । भारतमा मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामाको माग गर्दै भएको प्रदर्शनका क्रममा दिल्ली प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको छ।
दिल्लीको जन्तरमन्तरमा शुक्रबार भएको प्रदर्शनमा आम आदमी पार्टी (आप) का नेतादेखि विभिन्न विद्यार्थी संगठनका कार्यकर्ता सहभागी भएका थिए। प्रहरीले जन्तरमन्तर र आसपासबाट ७०० भन्दा बढीलाई हिरासतमा लिएको जनाएको छ।
प्रदर्शनकारीहरूले निर्वाचन आयोगको विशेष मतदाता नामावली पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। निर्वाचन आयोगले भने मतदाता नामावली पुनरावलोकनको उद्देश्य दोहोरो तथा अयोग्य नाम हटाउनु रहेको बताउँदै आएको छ।
प्रहरीले हिरासतमा लिएका प्रमुख नेताहरूमा दिल्लीकी पूर्वमुख्यमन्त्री तथा आप नेतृ आतिशी, आप दिल्ली अध्यक्ष सौरभ भारद्वाज, नेता सञ्जीव झा र राज्यसभा सांसद सञ्जय सिंहलगायत छन्। विद्यार्थी संगठन एआईएसए, एसएफआई र एनएसयूआईका कार्यकर्तासमेत प्रदर्शनमा सहभागी भएका थिए।
प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले जन्तरमन्तर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रदर्शनका कारण आसपासका क्षेत्रमा समेत आवतजावतमा प्रतिबन्ध लगाइएको र केही मेट्रो स्टेसनमा प्रवेश–निकास बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच, ‘कक्रोच जनता पार्टी’ (सीजेपी) सहित विभिन्न समूहले पनि निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्तविरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।





