वीरगंज, १६ असोज। संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ। त्यसअघि शुक्रबार बसेको बर्खे अधिवेशनको अन्तिम बैठक सभामुख डोलप्रसाद अर्यालले अधिवेशन अन्त्य हुने जानकारी गराउँदै समापन गरेका छन्।
अन्तिम बैठकपछि संसद् भवनमा उपस्थित सांसदहरूले एकअर्कासँग हात मिलाउँदै फोटो खिचाएका थिए। सौहार्दपूर्ण वातावरणमा उनीहरू अर्को अधिवेशनमा भेट्ने भन्दै बैठकबाट बाहिरिएका छन्।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
संघीय संसद्को चालु अधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि सुरु भएको थियो।
यस अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विधेयकहरू पारित भएका छन्। त्यस्तै, संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका अध्यादेश पनि स्वीकृत भएका छन्।
अध्यादेशमार्फत संशोधन गरिएका विषय समेटेर ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भई ऐनमा रूपान्तरण भएका छन्।





