बारा,१६ असाेज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिरामीको उपचारका क्रममा हुने रगतको अभावलाई न्यूनीकरण गर्ने तथा स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा १३ महिलासहित ४८ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।
पछिल्लो समय वीरगन्जस्थित ब्लड बैंकमा रगतको अभाव देखिँदा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तले आवश्यक रगत जुटाउन कठिनाइ भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ। संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया तथा अन्य उपचारका क्रममा आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले नियमित रक्तदानले आवश्यक परेको समयमा बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नु सामाजिक जिम्मेवारीसँगै मानवीय सेवाको महत्वपूर्ण माध्यम भएको बताए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. अर्जुन पटेलले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जनहितकारी तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविरलगायत समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
डा. पटेलले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा स्थानीय समुदाय, स्वास्थ्यकर्मी, कर्मचारी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूसँगको सहकार्यमा थप प्रभावकारी र व्यापक बनाउँदै लैजाने बताए।
अस्पतालका अनुसार यस्ता कार्यक्रमले स्वास्थ्य संस्थालाई समुदायसँग अझ नजिक जोड्नुका साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा समेत सहयोग पुर्याउनेछ।





