वीरगंज, १७ असोज । जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि पर्साको वीरगंजमा सुरु भएको छ ।
वीरगंजको एक पार्टी प्यालेसमा निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको नामावली रुजु गर्दै बन्दसत्रको हलमा प्रवेश दिइरहेका छन् ।
महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन हुनेछ। निर्वाचन समितिका अनुसार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। विभिन्न पदमा गरी कुल १०३ जनाले उम्मेदवारी दिएका छन्।
पार्टी अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको मात्रै उम्मेदवारी परेको छ। अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले राउत पुनः निर्वाचित हुने भएका छन्।
अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने भएको छ। सात उपाध्यक्ष पदका लागि १४ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि ७३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
जनमत पार्टीको विधान तथा निर्वाचन नियमावलीअनुसार अध्यक्षसहित सबै पदका लागि मतदान प्रक्रिया अनिवार्य गरिएको छ। उम्मेदवारले निर्वाचित हुन वा पदको मान्यता प्राप्त गर्न खसेको कुल मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।
महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी नीति, रणनीति तथा संगठनात्मक संरचनाबारे पनि निर्णय गर्ने जनाइएको छ।





