spot_img

तलब भुक्तानी नभएपछि पोखरियाको सरसफाइ सेवा एक सातादेखि अवरुद्ध

spot_img
spot_img

वीरगंज,१७ असोज । पर्साको पोखरिया नगरपालिकाका सफाइकर्मीले नौ महिनादेखि तलब नपाएको भन्दै फोहोर सङ्कलन तथा सरसफाइको काम रोकेका छन्। सफाइकर्मीले करिब एक सातादेखि काम बन्द गरेपछि नगर क्षेत्रको फोहोर व्यवस्थापन प्रभावित भएको छ।

सरसफाइ सेवा रोकिएपछि पोखरियाका बजार, सडक तथा आवासीय क्षेत्रमा फोहोर थुप्रिन थालेको छ। लामो समयसम्म फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको स्थानीयले बताएका छन्।

सफाइकर्मी लक्ष्मी राउत डोमले लामो समयदेखि पारिश्रमिक नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको बताइन्। पटक–पटक तलब भुक्तानीका लागि नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएपछि काम रोक्न बाध्य भएको उनको भनाइ छ।

सफाइकर्मीले यसअघि पनि करिब दुई महिनाअघि तलब भुक्तानीको माग गर्दै काम रोकेका थिए। त्यतिबेला नगरप्रमुख तथा वडा अध्यक्ष लक्ष्मण शाह कानुले समस्या समाधान गरी बक्यौता तलब भुक्तानी गर्ने आश्वासन दिएपछि उनीहरू काममा फर्किएका थिए।

तर, आश्वासनअनुसार तलब भुक्तानी नभएपछि पुनः काम रोक्नुपरेको सफाइकर्मीको भनाइ छ। लामो समय सरसफाइ सेवा अवरुद्ध हुँदा नगर क्षेत्रमा फोहोर थुप्रिनुका साथै दुर्गन्ध फैलिने र जनस्वास्थ्यमा असर पर्ने जोखिम बढेको स्थानीयको भनाइ छ।

स्थानीयले सफाइकर्मीको बक्यौता तलब तथा सेवा–सुविधा तत्काल भुक्तानी गरी नियमित फोहोर सङ्कलन तथा सरसफाइ सेवा सञ्चालन गर्न नगरपालिकासँग माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय