काठमाडौं,१७ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले जितीया पर्वले नेपाली समाजमा आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेमको भावना अभिवृद्धि गर्दै आएको बताएका छन्।
जितीया पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले महिलाप्रतिको श्रद्धा र आस्था बढाउनुका साथै मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जितीया विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा अन्य केही समुदायका महिलाले आफ्ना सन्तान र परिवारजनको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै जिमुतवाहनको पूजा–आराधना गरी मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख छ।
आश्विन कृष्णपक्षको अष्टमीका दिन महिलाले कठोर उपवास बस्ने तथा विभिन्न शुद्ध परिकार बनाएर खाने–खुवाउने परम्परा रहेको राष्ट्रपति पौडेलले बताएका छन्।
उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुकमा जितीयाजस्ता मौलिक पर्वले नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने बताएका छन्।
राष्ट्रपति पौडेलले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै संस्कारयुक्त सामाजिक वातावरण निर्माण तथा सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वको गरिमा कायम राख्दै निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरेका छन्।
जितीया पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकता कायम गर्न थप योगदान पुर्याओस् भन्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।





