वीरगंज, १७ असोज । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) को तेस्रो मधेश सम्मेलन शनिबारदेखि वीरगंजमा शुरु भएको छ । सम्मेलनको मधेश प्रदेशका सभामुख रामअशिष यादवले उद्घाटन गरेका छन् । वीरगंजस्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा शनिबार बिहान ११ बजे शुरु भएको सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाबाट करिब दुई सय २५ जना अतिथि तथा सहभागीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि तथा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको पानले हाल सातै प्रदेशका ७७ जिल्लामा संगठन विस्तार गरिसकेको जनाएको छ । संस्था गैरराजनीतिक, गैरयुनियन तथा गैरनाफामूलक संस्थाका रूपमा क्रियाशील रहेको आयोजक पान मधेशका सदस्य राजकुमार सिंहको भनाइ छ । सम्मेलन उद्घाटन गर्दै सभामुख यादवले सामुदायिक विद्यालयका प्रधानाध्यापक विद्यालयका अभिभावकको भूमिकामा रहने भएकाले प्रधानाध्यापकको क्षमता अभिवृद्धि नभएसम्म शिक्षक तथा अन्य कर्मचारीको क्षमता विकास पनि प्रभावकारी हुन नसक्ने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विद्यालयसँग सम्बन्धित सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मधेशका २२ वटा विद्यालयका उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गरिने पर्सा पानका अध्यक्ष विनोद मेहताले जानकारी दिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय काम गरेका उत्कृष्ट स्थानीय तहलाई समेत सम्मान गरिने उनले बताए । सम्मेलनमा प्यानल छलफलमार्फत शिक्षण–सिकाइका नयाँ आयाम, आधुनिक शैक्षिक विधि तथा सीप, प्रधानाध्यापकको भूमिका र जिम्मेवारीलगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान गरिने आयोजकले जनाएको छ । सम्मेलनअन्तर्गत शनिबार साँझ ‘भोजपुरी साँझ’ नामक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
पान मधेश प्रदेशका अध्यक्ष सञ्जय झा र मधेश महासचिव प्रमिन्दर निधिको सहजीकरणमा आयोजित सम्मेलनमा मधेशका आठ जिल्लाका करिब आधा दर्जन स्थानीय तहका प्रमुख, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा, पान मधेश समितिका पदाधिकारी तथा जिल्ला समितिका पदाधिकारीलगायतको सहभागिता रहेको पान वीरगंज नगर अध्यक्ष एवं नृसिंह माध्यमिक विद्यालय, पिपरामठ वीरगंजका प्रधानाध्यापक नवीनकुमार मिश्रले जानकारी दिए।





