वीरगंज, १७ असोज । बारा क्षेत्र नं. २ का रास्वपा सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशअनुसार गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता गरिएको हो। देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा सांसद सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। उनका अनुसार हालसम्म पक्राउ पुर्जी भने जारी गरिएको छैन।
महतोले देवताल गाउँपालिकामा सुपरभाइजरका रूपमा कार्यरत रहँदा गाउँमा भएका गलत गतिविधिको विरोध गरेको कारण आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको आरोप जाहेरीमा लगाएका छन्।
जाहेरीअनुसार २७ कात्तिक २०८१ मा सांसद सिंहसहितका व्यक्तिहरूले आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरेको र त्यसपछि विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा आफू तथा परिवारका सदस्यलाई सहभागी हुन नदिएको आरोप महतोले लगाएका छन्।
यस्तै, सार्वजनिक तथा धार्मिक स्थलमा बहिष्कार गर्न लगाउने, आफूविरुद्ध गाउँमा विभिन्न कुरा प्रचार गर्ने तथा व्यक्तिगत चरित्र र सामाजिक प्रतिष्ठामा असर पार्ने गतिविधि गरिएको दाबीसमेत जाहेरीमा गरिएको छ।
महतोले गाउँमा विकाससम्बन्धी काम गर्न अवरोध गरिएको र आफूले त्यसको विरोध गर्दै विकासका काम अघि बढाउन पहल गरेपछि आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरिएको आरोप लगाएका छन्। यस क्रममा आफू करार सेवाबाट सात दिन निलम्बनमा परेको दाबीसमेत उनले गरेका छन्।
जाहेरीमा सांसद सिंहसँगै रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पसवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख छ।
महतोले विपक्षीहरूले दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई पैसा वा अन्य प्रलोभन दिएर आफ्नो विरोधमा प्रयोग गरेको आरोपसमेत लगाएका छन्।
जाहेरीसँगै घटनासँग सम्बन्धित निर्णयको फोटोकपी प्रमाणका रूपमा संलग्न गरिएको र आवश्यक अनुसन्धान तथा सरजमिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ।
सांसद सिंह २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। पछि जसपा नेपाल र लोसपाबीच एकीकरणपछि उनी रास्वपामा प्रवेश गरी बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।





