बारा,१७ असाेज । बाराको परवानीपुर गाउँपालिका–१ बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युरो हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको सहयोगमा शिविर आयोजना गरिएको हो।
स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा बिहान ९ बजेदेखि सञ्चालन भएको शिविरमा करिब ४ सय महिला तथा पुरुषले निःशुल्क आँखा र दन्त परीक्षण गराएका छन्।
शिविरमा सहभागी स्थानीयवासीको आँखा तथा दाँतको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो। आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा पाएपछि स्थानीयवासीले राहत महसुस गरेका थिए।
ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको पत्रकार यादवले बताए। जनप्रतिनिधि र जनताबीचको दूरी बढ्दै गएको गुनासो आउन थालेपछि आफूले स्थानीयको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि पहल गरेको उनको भनाइ छ।
यादवले पत्रकारितामार्फत जनताको आवाज उठाउनुका साथै उनीहरूको सुख–दुःखमा समेत साथ दिने आफ्नो प्रतिबद्धता रहेको बताए। ग्रामीण क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेकाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।





