काठमाडौं,१७ असाेज । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकप्रति जवाफदेही हुन छाडेको आरोप लगाएका छन्। उनले सरकार ‘नागरिकलाई जति हेपे पनि हुन्छ’ भन्ने मानसिकतामा पुगेको टिप्पणी गरेका हुन्।
कान्तिपुरसँगको विशेष कुराकानीमा थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनका अनुसार कानुनको शासन मान्ने सरकारले नागरिकमाथि मनपरी व्यवहार गर्न नहुने बताए।
थापाले सरकारका पछिल्ला गतिविधिले नागरिकलाई कमजोर ठान्ने प्रवृत्ति देखाएको दाबी गरे। उनले सामाजिक सञ्जालमा समर्थन र ‘फलोअर्स’ धेरै भएको आधारमा राज्यले नागरिकमाथि जस्तोसुकै व्यवहार गर्न पाउने मानसिकताको विरोध गर्नुपर्ने बताए।
सरकारका कामप्रति कांग्रेसले पछिल्लो समय केही नरम शैलीमा आलोचना गर्दै आएको स्वीकार गर्दै थापाले अब विरोधको स्वर मधुरो नबनाउने संकेत गरे। उनका अनुसार पछिल्ला करिब छ महिनामा विषयवस्तु नछाडिए पनि समय र सामाजिक मनोविज्ञानलाई ध्यानमा राखेर विरोधको शैली केही संयमित बनाइएको थियो।
सरकारविरुद्ध तत्काल सडक आन्दोलनमा जाने योजना भने नरहेको थापाले स्पष्ट पारे। उनले वर्तमान सरकारलाई नागरिकले सुशासन र अर्थतन्त्र सुधारका लागि बलियो जनादेश दिएको भन्दै त्यसको सम्मान गर्नुपर्ने बताए।
सरकारलाई घेराबन्दी गर्न विभिन्न दलसँग मोर्चाबन्दी गर्ने पक्षमा कांग्रेस नरहेको पनि उनले बताए। रास्वपाले सरकार सञ्चालनको जनादेश पाएकाले त्यसलाई सम्मान गर्दै कांग्रेसले आवश्यक ठाउँमा सहयोग र गलत काममा विरोध गर्ने उनको भनाइ छ।
‘हामी कसैसँग मोर्चा बनाउँदैनौं, घेराबन्दी पनि गर्न जाँदैनौं,’ थापाले भने, ‘सरकारलाई जहाँ सहयोग गर्नुपर्ने हो गर्छौं, जहाँ विरोध गर्नुपर्ने हो गर्छौं।’





