spot_img

जनमतको महाधिवेशनमा रिजवान अन्सारी : ‘राजनीतिक संस्कार बदल्नुपर्छ’

spot_img
spot_img

वीरगंज, १७ असोज । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति र परिणाममुखी राजनीतिक संस्कार आवश्यक रहेको बताएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिँदै अन्सारीले महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रियामात्र नभई विगतको समीक्षा, वर्तमानको मूल्यांकन र भविष्यको राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताए।

नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा अपेक्षित परिवर्तन अझै आउन नसकेको उल्लेख गर्दै उनले समानता, सामाजिक न्याय, समावेशिता र अधिकारसम्पन्न संघीयतालाई राजनीतिको प्रमुख एजेन्डा बनाउनुपर्ने धारणा राखे।

अन्सारीले लोकतन्त्र निर्वाचनमा मात्र सीमित नभई जनताको सम्मान, समान अधिकार र राज्यमा समान पहुँच सुनिश्चित गर्ने व्यवस्था भएको बताए। संघीयता पनि प्रदेशको संरचनामा मात्र सीमित नभई जनतालाई अधिकार र निर्णय प्रक्रियाको वास्तविक साझेदार बनाउने प्रणालीका रूपमा विकास हुनुपर्ने उनको भनाइ थियो।

मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, महिला तथा सबै उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समतामूलक नेपाल निर्माण गर्न नसकिने अन्सारीले बताए।

उनले सरकार परिवर्तनभन्दा राजनीतिक संस्कार र शासन प्रणालीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति, भागबन्डाभन्दा सामाजिक न्याय र भाषणभन्दा परिणाम दिने राजनीतिक संस्कृतिमा जोड दिए।

फरक राजनीतिक धारमा रहे पनि लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनताको अधिकारका पक्षमा संवाद, सहकार्य र साझा पहलकदमी अघि बढाउनुपर्ने अन्सारीको भनाइ थियो।

उनले जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनले स्पष्ट राजनीतिक दिशा, सुदृढ संगठन, उत्तरदायी नेतृत्व र जनताप्रतिको बलियो प्रतिबद्धता निर्माण गरोस् भन्दै महाधिवेशनको सफलताको शुभकामना दिए।

संगठन विस्तार तीव्र बनाउने निर्णय

यसैबीच नेपाल संघीय समाजवादी पार्टीले बारा जिल्लामा संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ। कलैयामा आज बिहान बसेको जिल्ला समितिको बैठकले नुरुल्लाह मियाँको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको उपाध्यक्षमा जमालुद्दिन मियाँ, कोषाध्यक्षमा नसारुद्दिन देवान र सचिवमा बौवालाल ठाकुरलाई जिम्मेवारी दिइएको छ।

बैठकले आगामी मंसिर २० गते कलैयामा जिल्ला अधिवेशन गर्ने तथा तीन महिनाभित्र जिल्लाका सबै स्थानीय तह र निर्वाचन क्षेत्रमा संगठन विस्तार गर्ने निर्णय गरेको छ। साथै कलैयामा जिल्ला पार्टी कार्यालय स्थापना गर्ने निर्णयसमेत गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष रिजवान अन्सारीले राजनीतिक उपलब्धि र जनताको अधिकारको संरक्षणका लागि सशक्त तथा जनतासँग जोडिएको संगठन निर्माण गर्नुपर्ने बताए।

उनले संगठन विस्तारलाई अभियानका रूपमा अघि बढाउँदै सामाजिक न्याय, समानता, समावेशिता र संघीयताको प्रभावकारी कार्यान्वयनका सवाललाई प्राथमिकतामा राख्न नेता–कार्यकर्तालाई निर्देशन दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय