spot_img

मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु

spot_img
spot_img

वीरगंज, १७ असोज । मधेश प्रदेशमा चालु आर्थिक वर्षको साउन र भदौमा विपद्का ४५९ घटना भएका छन्। ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन्। विपद्का घटनामध्ये करेन्ट लागेर सबैभन्दा बढी ३९ जनाको मृत्यु भएको छ भने पानीमा डुबेर २९ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन र आगलागीबाट एक जनाको मृत्यु भएको छ। अन्य विपद्का घटनामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई महिनामा आगलागीका ११२, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन्।

प्रहरीका अनुसार विपद्का घटनाबाट २ करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। आगलागीबाट मात्रै २ करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको छ भने २१२ परिवारका घर जलेका छन्।

मधेशमा वर्षायाममा बाढी, डुबान तथा पानीमा डुब्ने जोखिम बढ्ने गरेको प्रहरीले जनाएको छ। करेन्ट, आगलागी तथा अन्य विपद्का घटनामा मानवीय क्षति न्यूनीकरण गर्न पूर्वसावधानी र जनचेतना आवश्यक रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय