वीरगंज, १७ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक परिस्थितिमा पुरानै तरिकाले अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताएका छन्।
शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमपछि मुलुक सहज अवस्थामा अघि नबढेको बताए। उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकारको पक्षमा थप दृढतापूर्वक अघि बढ्नुपर्ने धारणा राखे।
प्रचण्डले वर्तमान चुनौती सामना गर्न सच्चा कम्युनिस्ट शक्तिबीच पार्टी एकता तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
उनले विगतका राजनीतिक उपलब्धिको समीक्षा गर्दै ‘गणतन्त्र आएपछि केही पनि भएन’ भन्ने धारणा इतिहास र तथ्यसँग मेल नखाने दाबी गरे। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधान निर्माण र संघीय संरचना कार्यान्वयनमा आफूहरूले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
प्रचण्डले विगतका उपलब्धिको रक्षा गर्दै कमजोरी सच्याउने र नयाँ परिस्थितिअनुसार पार्टी, विचार, संगठन तथा नेतृत्वलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए।





