वीरगंज, १७ असोज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले पर्साका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइएका करिब १३ लाख रुपैयाँ बराबरका अवैध सामान तथा अवैध बालुवा उत्खननमा प्रयोग भएको ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ इनर्वाबाट कपडा र मोटरसाइकलसहित २ लाख ५१ हजार ८२० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। सोही क्षेत्रबाट स्मार्ट टीभी तथा टाँगा–घोडासहित १ लाख १२ हजार ८०० रुपैयाँ बराबरका सामानसमेत नियन्त्रणमा लिइएको छ।
यस्तै, वीरगंज –१ बोरिङ क्षेत्रबाट झाडीमा लुकाइराखिएको अवस्थामा १ लाख ७३ हजार ७१० रुपैयाँ बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पकाहामैनपुर गाउँपालिका–५ सबैठवाबाट चार जनाले टाउकोमा बोकेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३ लाख रुपैयाँ बराबरका विभिन्न कपडा पनि बरामद गरिएको छ। वीरगंज–१६ इनर्वाबाट दुई जनाले ल्याउँदै गरेको ६० हजार रुपैयाँ बराबरको एसीसमेत नियन्त्रणमा लिइएको छ।
त्यस्तै, वीरगंज–२५ खल्वास्थित ड्राइपोर्ट क्षेत्रबाट दुई जनाले टाउकोमा बोकेर ल्याउँदै गरेको ४ लाख २७ हजार ३८० रुपैयाँ बराबरका विभिन्न औषधी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, वीरगंज महानगरपालिका–३१ भेडाहा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा ना ५ त ४८४० नम्बरको सोनालिका ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। उक्त ट्र्याक्टरको मूल्य १३ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान तथा नियन्त्रणमा लिइएका सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ भने ट्र्याक्टरलाई जिल्ला समन्वय समिति पर्सामा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।





