spot_img

कांग्रेस महाधिवेशनको तयारी पूरा, पदाधिकारी संख्या बढाउने तयारी

spot_img
spot_img

वीरगंज, १७ असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। महाधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले सभापति गगन थापालाई अहिलेसम्म कसैले चुनौती नदिएको बताए।

महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा चालिसेले सर्वसम्मत नेतृत्व चयन हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने बताए। उनले महाधिवेशनलाई नेता चयनभन्दा नीति र आगामी राजनीतिक दिशामाथि केन्द्रित गर्नुपर्नेमा जोड दिए।

महाधिवेशनमा सभापति थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयसम्बन्धी र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। पूर्वसभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने प्रयास भइरहेको पनि प्रवक्ता चालिसेले जानकारी दिए।

पदाधिकारी संख्या बढाउने तयारी

कांग्रेसले १५औँ महाधिवेशनबाट विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको विधान संशोधन समितिले यसबारे छलफल गरिरहेको छ।

हाल कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र क्लस्टरबाट आठ सहमहामन्त्री रहने व्यवस्था छ। प्रस्तावित संशोधनमा उपसभापति र महामन्त्री एक–एक जना थप्ने तयारी छ भने सहमहामन्त्रीको संख्या पनि ४ देखि ५ जनासम्म बढाउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।

महामन्त्री पदमा आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन्। प्रदीप पौडेल र गुरुराज घिमिरेसँगै नैनसिंह महर, सुनिल शर्मा, मधु आचार्य, अमरसिंह पुन, उदयशम्शेर राणा, आङगेलु शेर्पा र रञ्जित कर्ण आकांक्षीका रूपमा देखिएका छन्।

सुनिल शर्माले पत्रकार सम्मेलनमार्फत महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने अमरसिंह पुन र उदयशम्शेर राणाले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन्। अन्य नेताहरूले पनि आन्तरिक रूपमा तयारी गरिरहेका छन्।

प्रतिनिधिका लागि स्वास्थ्य डेस्क

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ। महाधिवेशनस्थलमा ३० जना स्वास्थ्यकर्मीको सहभागितामा पाँच स्टलसहितको हेल्थ डेस्क सञ्चालन गरिनेछ।

हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा उपलब्ध हुनेछ। ब्लड प्रेसर, सुगर परीक्षण तथा सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ।

आकस्मिक अवस्थामा प्रतिनिधिलाई वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बीपी स्मृति अस्पताल लैजान व्यवस्था मिलाइएको छ। महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ भने रातिको समयमा आवश्यक परे ‘अन कल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिले ३५ सय रुपैयाँ शुल्क तिरेपछि पार्टी कार्यालय सानेपाबाट झोला पाउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय