spot_img

मधेसी क्लस्टरबाट फेरि सहमहामन्त्री लड्दै महेन्द्र यादव

spot_img
spot_img

जनकपुर,२० असाेज । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले पार्टीको १५औँ महाधिवेशनमा पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादवले यसपटक पनि सोही क्लस्टरबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

यादवले कांग्रेसलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सक्रिय, अनुशासित र जनतासँग निरन्तर जोडिएको पार्टी बनाउने उद्देश्यले पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको बताए । लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थालाई सुदृढ गर्दै पार्टीलाई एकताबद्ध बनाउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।

यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले पुनः निर्वाचित भए पार्टी र कार्यकर्ताबीचको एकता थप मजबुत बनाउन सहज हुने यादवले बताए ।

उनलाई यसपटक माथिल्लो पदमा उम्मेदवारी दिन सुझाव आए पनि कांग्रेसका वरिष्ठ नेताहरू उपसभापति र महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेकाले आफूले सहमहामन्त्रीमै दोहोरिने निर्णय गरेको उनले बताए ।

यादवले नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र कांग्रेस सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । २०३६ सालदेखि प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा सक्रिय रहेको र पटक–पटक जेलसमेत परेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक योगदानका आधारमा नेता–कार्यकर्ताको समर्थन पाउने विश्वास व्यक्त गरे ।

संविधानसभा तथा व्यवस्थापिका–संसद्का सदस्यसमेत भइसकेका यादव लामो समयदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

मधेसी क्लस्टरबाट पुनः सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्नु आफ्नो राजनीतिक आधारसँगै मधेसी समुदायको प्रतिनिधित्वलाई निरन्तरता दिने प्रयास भएको यादवको भनाइ छ । पार्टीको पदाधिकारी तहमा मधेसी समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन पनि आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।

पछिल्ला निर्वाचनमा मधेसमा कांग्रेसलगायत परम्परागत दलहरूले नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यादवले अनुभवी नेताका रूपमा आफूले पार्टी र मधेसबीचको सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्न सक्ने दाबी गरे ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय