काठमाडौं,२१ असोज । पशुपतिनाथ मन्दिरको मुख्य परिसरमा प्रवेश गरेको विषयमा विवादमा आएका इटहरीका एक मुस्लिम दम्पती पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले इटहरीबाट प्रियंका परियार र ओसीम अन्सारीलाई बुधबार पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।
केही दिनअघि दम्पती पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए। त्यहाँ उनीहरूले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरूको मन्दिर प्रवेशलाई लिएर विवाद उत्पन्न भएको थियो। भिडियोमा ओसीमले मुस्लिम समुदायले प्रयोग गर्ने टोपी लगाएको देखिएपछि विषय थप चर्चामा आएको थियो।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि गैरहिन्दू व्यक्तिले पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गरेको भन्दै प्रश्न उठाइएको थियो। यस विषयमा सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत चासो व्यक्त गरेकी थिइन्।
त्यसपछि पशुपति क्षेत्र विकास कोषले घटनाबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ओसीम इटहरी–८ का स्थायी बासिन्दा हुन्। उनी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। उनीहरू निषेधित क्षेत्रमा प्रवेश गरेका थिए वा थिएनन् तथा घटनाको वास्तविक प्रकृति के हो भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।




