वीरगंज,२१ असाेज । जिल्ला प्रहरी कार्यालय पर्साले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका क्रममा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सर्वसाधारणलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
चाडपर्वमा मानिसको आवतजावत बढ्ने, बजार तथा व्यापारिक क्षेत्रमा भीडभाड हुने र सार्वजनिक यातायातमा चाप बढ्ने भएकाले सुरक्षा निगरानी, गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, धार्मिक तथा सांस्कृतिक गतिविधि हुने स्थानमा समेत विशेष निगरानी बढाइनेछ। शान्ति सुरक्षामा असर पार्ने तथा आपराधिक गतिविधि हुन नदिन प्रहरी परिचालनलाई थप कडाइ गरिने जनाइएको छ।
प्रहरीले चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा आतिशबाजी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयले आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ। सुरक्षित र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार चाडपर्वको भीडभाडलाई ध्यानमा राख्दै विशेष निगरानी, गस्ती र चेकजाँचलाई थप सुदृढ बनाइनेछ।




