वीरगंज,२१ असाेज । वीरगंज महानगरपालिकाले राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका वीरगंज–२३ निवासी डा. राजु बैठालाई सम्मान गरेको छ ।
भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा पीएचडी गरेका बैठाले ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ विषयमा अनुसन्धान गरेका हुन् ।
बैठाले आफ्नो समुदायबाट पीएचडी उपाधि हासिल गर्ने आफू पहिलो व्यक्ति भएको बताएका छन् । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले डा. बैठालाई खादा लगाएर सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा प्रमुख सिंहले बैठाको शैक्षिक उपलब्धिले वीरगंजको पहिचान देश तथा विदेशमा थप उजागर भएको बताए । उनले महानगरको नामसमेत आफ्नो अनुसन्धानमार्फत उज्यालो बनाउने व्यक्तिलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताए ।
सो अवसरमा डा. बैठाले आफ्नो अनुसन्धानमा आधारित पुस्तक महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए ।
बैठाको अनुसन्धानमा वीरगंज महानगरपालिकाले नागरिकलाई उपलब्ध गराउँदै आएका सार्वजनिक सेवाको कार्यक्षमता, प्रभावकारिता तथा परिणाममूलक पक्षको अध्ययन गरिएको छ । अनुसन्धानले स्थानीय सरकारको सेवा प्रवाहमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे तथ्यगत आधार प्रस्तुत गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुसन्धानबाट प्राप्त निष्कर्ष महानगरपालिकाका लागि उपयोगी हुने बताए । अनुसन्धानले औंल्याएका विषयलाई आधार बनाएर सेवा प्रवाहमा आवश्यक सुधार तथा प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
सम्मान ग्रहण गर्दै डा. बैठाले आफूलाई प्राप्त प्रेरणा, सहयोग र साथकै कारण शैक्षिक यात्रामा यो उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले आगामी दिनमा शिक्षा, अनुसन्धान र सामाजिक योगदानमार्फत वीरगन्ज तथा आफ्नो क्षेत्रको विकासमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।




