spot_img

गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

spot_img
spot_img

काठमाडौं,२१ असाेज । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय वा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार लिलबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषणसमेतको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

रिटमा नेपालको संविधानको धारा १८८(२) अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था कार्यान्वयन नभएको दाबी गरिएको छ । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको र त्यसबारे एमालेका नेताले २०८३ भदौ १० गते प्रदेश प्रमुखलाई जानकारी गराएको पत्रसमेत रिट निवेदनमा पेश गरिएको थियो ।

अदालतले विश्वासको मतसम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन नभएको भन्ने निवेदन दाबी देखिएको भन्दै सुविधा सन्तुलनको संवेदनशीलतालाई ध्यानमा राखेर रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा निर्णय, काम वा कारबाही नगर्न मुख्यमन्त्रीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले विपक्षीहरूलाई आदेश जारी हुन नपर्ने भए त्यसका आधार, कारण र प्रमाणसहित २०८३ कात्तिक ११ गतेसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रदेश प्रमुखको हकमा महान्यायाधिवक्ताको कार्यालय र अन्य विपक्षीको हकमा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।

विषयवस्तुको संवेदनशीलतालाई मध्यनजर गर्दै अदालतले रिटलाई अग्राधिकारसमेत दिएको छ । कात्तिक ११ गतेपछि पर्ने हप्तामा रिट पेश गर्न आदेश दिँदै अदालतले मूल विवादको अन्तिम निरूपण लिखित जवाफ तथा आगामी सुनुवाइपछि गर्ने जनाएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमेश बडाल, रमनकुमार श्रेष्ठ, टीकाराम भट्टराई, श्रीकान्त बराल र रामनारायण बिडारीले बहस गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय