spot_img

पर्साबाट हेटौँडा पुर्‍याइएको ३०० किलो प्रतिबन्धित मागुर माछा बरामद

spot_img
spot_img

वीरगंज,२१ असाेज । नेपालमा प्रतिबन्धित जुंगे (मागुर) माछा पर्साबाट उत्पादन गरी हेटौँडामा ल्याएर बिक्री–वितरण भइरहेको खुलेको छ । हेटौँडाका विभिन्न स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित मागुर माछा बरामद भएपछि नष्ट गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर र क्याम्पाडाँडाको कुनाटोलस्थित पोखरीमा प्रतिबन्धित मागुर माछा फेला परेको सम्बन्धित निकायले जनाएको छ । यसै क्रममा हेटौँडा माछा बजारबाट करिब ३०० किलो प्रतिबन्धित माछासमेत बरामद गरिएको थियो ।

बरामद गरिएको माछा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको जनाइएको छ ।

प्रतिबन्धित माछाको कारोबारमा संलग्न दुई जनालाई कुल ५ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ । उनीहरूले बरामद भएको माछा पर्साको मिलनचोक आसपासका पोखरीमा उत्पादन तथा पालन गरी हेटौँडा ल्याएको बताएका छन् ।

घटनापछि पर्साका विभिन्न क्षेत्रमा समेत प्रतिबन्धित मागुर माछाको अवैध उत्पादन तथा कारोबार भइरहेको हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पोखरीमा माछा पालन गरी अन्य जिल्लामा बिक्रीका लागि पठाउने गतिविधि भइरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयका अनुसार प्रतिबन्धित माछाको अवैध उत्पादन, बिक्री–वितरण तथा ओसारपसारले वातावरणीय सन्तुलनमा असर पार्नुका साथै उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्छ । त्यसैले पर्साका विभिन्न क्षेत्रमा रहेका पोखरी तथा माछा बजारमा नियमित अनुगमन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिबन्धित माछाको उत्पादन र कारोबार नियन्त्रणका लागि स्थानीय तह, कृषि तथा पशुपन्छीसम्बन्धी निकाय, सुरक्षा निकायलगायत सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको स्थानीयले बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय