वीरगंज, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई स्मरण गर्दै पार्टी जीवनमा योगदान गरेका नेताहरू १५ औं महाधिवेशनको मञ्चमा नहुँदा आफूलाई नमिठो लागिरहेको बताएका छन् ।
पार्टीको १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले पार्टी निर्माणमा गरेको योगदान, संघर्षलाई स्मरण गरे ।
‘विनम्रतापूर्वक आग्रह गर्छु, निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,’ सभापति थापाले भने, ‘पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ, पार्टीका अरु नेताहरूको योगदान छ । त्यसकारण हामीलाई मिठो लागिरहेको छैन । आज यो मञ्चमा हाम्रा दाईहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ ।’
सम्बोधनका क्रममा सभापति थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताए ।
पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गरे । साथै, उनले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको बताए ।
‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो
महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रले सभापति थापाले पेश गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
यसअघि आजै उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको थियो।
महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन्।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ।




