वीरगन्ज, २२ असोज । पर्सामा नक्कली कागजात र श्रेस्ता तयार पारेर बहुमूल्य जग्गाको हालसाबिक तथा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) बनाउने प्रयास भएको खुलेको छ। घटनामा नापी, भूमि प्रशासन कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीको समेत मिलेमतो रहेको आशंका गरिएको छ।
वीरगन्ज महानगरपालिका–१०, आदर्शनगरस्थित करिब दुई कठ्ठा जग्गाको नापी कार्यालयको अभिलेखमै नभएको श्रेस्ता तयार गरी हालसाबिकमार्फत लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको हो।
करिब ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको श्रेस्ता नापी कार्यालयको आधिकारिक अभिलेखसँग मेल नखाएपछि भूमि प्रशासन कार्यालय, पर्साले प्रक्रिया रोकेको जनाएको छ। घटनाबारे जानकारी पाएपछि समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीले कागजातको अवस्था र प्रक्रियाबारे खोजी गर्दा प्रकरण बाहिर आएको हो।
प्राप्त कागजातअनुसार आदर्शनगरस्थित कित्ता नम्बर २९, ५५ र १४७ को जग्गा वीरगन्ज–८ निवासी सुलोचना देवी प्रधान, आनन्द प्रसाद श्रेष्ठ, जुनि प्रधान श्रेष्ठ र आशा प्रधान श्रेष्ठसहित पाँच जनाको नाममा दर्ता तथा हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको थियो।
उक्त जग्गासम्बन्धी निवेदन असोज ९ गते भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता भएको देखिन्छ। नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र भूमि प्रशासन कार्यालयमा पुगेपछि कर्मचारीहरूले त्यसको आधिकारिकतामाथि शंका गरेका थिए।
भूमि प्रशासन कार्यालयका कर्मचारी श्रीनारायण साहका अनुसार नापी कार्यालयबाट आवश्यक पत्राचार नभई श्रेस्ता मात्र निवेदनसँगै आएपछि प्रक्रिया रोकिएको हो।
“नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र निवेदनमा आएको थियो। नापी कार्यालयले जारी गरेको श्रेस्तामाथि शंका लागेपछि प्रक्रिया रोकिएको हो,” साहले भने।
नापी कार्यालय, पर्साका सूचना अधिकारी तथा नापी अधिकृत ई. राजकुमार विश्वकर्माले उक्त श्रेस्ता कार्यालयको अभिलेखमा नभेटिएको बताएका छन्। उनका अनुसार नापी कार्यालयको मूल ढड्डामा समेत सो श्रेस्ता प्रमाणित भएको अभिलेख फेला परेको छैन।
प्रचलित प्रक्रियाअनुसार कुनै जग्गाको नापजाँच गरी त्यसको वास्तविक अवस्था यकिन गर्ने जिम्मेवारी नापी कार्यालयको हुन्छ। नापजाँचपछि आवश्यक टिपनी आदेशसहित जग्गाको श्रेस्ता कायम गरी निर्णयको पत्र र सम्बन्धित अभिलेख भूमि प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीहरू बताउँछन्।
तर, यस प्रकरणमा नापी कार्यालयबाट आवश्यक पत्राचार नै नभई श्रेस्ता मात्र भूमि प्रशासन कार्यालयमा पुगेको देखिएको छ। उक्त श्रेस्तामा नापी कार्यालयका अमिन तथा नापी अधिकृतको हस्ताक्षरसमेत रहेको बताइएको छ। तर, कार्यालयको आधिकारिक अभिलेखमा त्यस्तो श्रेस्ता नभेटिएपछि यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ।
भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीले नापी कार्यालयबाट जारी हुने श्रेस्ताको जिम्मेवारी सम्बन्धित नापी कार्यालयकै हुने बताएका छन्। नापी कार्यालयबाट जारी हुनुपर्ने श्रेस्ता नक्कली अवस्थामा आफ्नो कार्यालयमा आएपछि त्यसबारे जानकारी माग्दै नापी कार्यालयलाई पत्राचार गरिएको उनले बताए।
“श्रेस्ता नक्कली साबित भएमा त्यसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ,” खत्रीले भने।

हाकिमको तोकदेखि मोठ भिडाउने कामसम्म
प्रकरण बाहिरिनुअघि नै जग्गाको हालसाबिकसम्बन्धी प्रक्रिया अगाडि बढिसकेको देखिएको छ। कार्यालय प्रमुखको तोक लगाउनेदेखि मोठ भिडाउने तथा अन्य प्रशासनिक प्रक्रिया अघि बढाइएको अवस्थामा सञ्चारकर्मीले कागजात र प्रक्रियाबारे खोजी गरेपछि घटनाको रहस्य खुलेको हो।
स्रोतका अनुसार नक्कली श्रेस्ता तयार पार्नेदेखि हालसाबिक र लालपुर्जा बनाउने प्रक्रियासम्म विभिन्न तहका कर्मचारी तथा लेखापढी व्यवसायीको भूमिका रहने गरेको छ। यस प्रकरणमा पनि ठूलो आर्थिक चलखेल भएको दाबी स्रोतको छ।
भूमि प्रशासन कार्यालयका प्रमुखकै कार्यकक्षमा भेटिएका एक लेखापढी व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा यस्ता काम कर्मचारीसँगको मिलेमतोमा हुने गरेको दाबी गरे। उनका अनुसार सम्बन्धित प्रक्रियामा कार्यालयका उच्च तहका कर्मचारीसमेत संलग्न रहने गरेका छन्।
नापी र भूमि प्रशासनको भूमिकामाथि प्रश्न ?
नापी कार्यालयको आधिकारिक अभिलेखमा नदेखिएको श्रेस्ता भूमि प्रशासन कार्यालयसम्म कसरी पुग्यो भन्ने प्रश्न अहिले मुख्य बनेको छ। त्यसमाथि सोही कागजातका आधारमा हालसाबिक, नामसारी तथा जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइएको तथ्यले दुवै कार्यालयको कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
नक्कली कागजातका आधारमा बहुमूल्य सार्वजनिक वा निजी सम्पत्तिको स्वामित्व परिवर्तन गर्ने प्रयास भएको हो भने यो सामान्य प्रशासनिक त्रुटि मात्र नभई संगठित रूपमा गरिएको गम्भीर आर्थिक अपराध हुनसक्ने कानुनी जानकारहरू बताउँछन्।
यस प्रकरणमा संलग्न व्यक्तिहरू, कागजात तयार गर्ने व्यक्ति तथा सम्बन्धित कर्मचारीको भूमिकामाथि निष्पक्ष छानबिन आवश्यक देखिएको छ। नक्कली श्रेस्ता कसले तयार गर्यो, त्यसमा प्रयोग भएका हस्ताक्षर तथा छाप कसरी प्रयोग भए, कागजात भूमि प्रशासन कार्यालयसम्म कसरी पुग्यो र प्रक्रिया कुन तहसम्म अगाडि बढ्यो भन्ने विषयमा छानबिनबाट वास्तविकता बाहिर ल्याउनुपर्ने देखिन्छ।
हाल भूमि प्रशासन कार्यालय, पर्साले प्रक्रिया रोकेको जनाएको छ। नापी कार्यालयबाट प्राप्त हुने जवाफ र थप अनुसन्धानपछि श्रेस्ता वास्तविक वा नक्कली भएको यकिन हुने कार्यालयको भनाइ छ।
यदि श्रेस्ता नक्कली प्रमाणित भएमा त्यसमा संलग्न कर्मचारी, लेखापढी व्यवसायी तथा अन्य व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने देखिन्छ। स्रोतले दिएको जानकारी अनुसार सो जग्गा रैती जग्गा रहेको समेत बुझिएको छ ।
नक्लली श्रेस्ता खडागरी पुर्जा बनाउँने प्रयास गरिएपनि सूचना लिक भएपनि अन्तिम चरणमा रहेको काम रोकिएको स्रोतको दावी छ । यता यो बिषयमा सबै कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर कार्यालय प्रमुख खेमराज खत्रीले कुराकानी गरी लेखत तयार पार्नेलाइ जिकाउने आदेश दिएका छन् ।




