वीरगंज, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार तय गरिएको मतदान कार्य स्थगित भएको छ।
बिहान १० बजेका लागि तय गरिएको मतदानको समय तीन पटकसम्म सारेर दिउँसो साढे २ बजे पुर्याइए पनि अन्ततः आज मतदान हुन सकेन।
केन्द्रीय निर्वाचन समितिले आजका लागि थप समय तोक्न नसकेपछि मतदान प्रक्रिया शुक्रबारका लागि सारिएको छ। निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
निर्वाचन समितिले छापिएका निर्वाचन सामग्री (मतपत्र) प्रेसबाट आउन ढिलाइ भएका कारण बिहीबार मतदान गराउन नसकिएको स्पष्ट पारेको छ।




