काठमाडौं,२२ असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विभाजन गराउने उद्देश्यले केही व्यक्ति र ‘अदृश्य शक्ति’को स्वार्थमा विशेष महाधिवेशन आयोजना गरिएको आरोप लगाएका छन्।
बिहीबार देउवा पक्षको काठमाडौं महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिंहले विशेष महाधिवेशन कांग्रेसको माग र आवश्यकताअनुसार नभएको दाबी गरे। उनले केही व्यक्तिको महत्वाकांक्षा तथा राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर बनाउन चाहने शक्तिको स्वार्थमा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताए।
सिंहले विशेष महाधिवेशन गर्नेहरूलाई ‘गल्ती गरेका’ व्यक्तिको संज्ञा दिँदै उनीहरूको पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे। सही र गलत छुट्याएर पार्टीलाई बलियो बनाउन आफूहरू निरन्तर लाग्नुपर्ने उनको भनाइ थियो।
आफूले पनि त्यही उद्देश्यअनुसार नियमित महाधिवेशनको प्रक्रियालाई अघि बढाइरहेको सिंहले बताए। उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय कार्यसमितिले पार्टीको विधान तथा नियमअनुसार आवश्यक निर्णय गर्दै अघि बढ्ने दाबी गरे।




