विराटनगर,२२ असाेज । चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा बजार अनुगमनलाई तीव्र पारिएको छ। कालोबजारी, कृत्रिम अभाव तथा उपभोक्ता ठगी नियन्त्रणका लागि गरिएको संयुक्त अनुगमनका क्रममा विभिन्न कसुरमा २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा पछिल्लो १० दिनमा ७४ वटा व्यावसायिक फर्ममा छड्के अनुगमन गरिएको थियो। अनुगमनका क्रममा नियम उल्लंघन गर्ने २९ फर्मबाट कुल ६ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रशासनले जनाएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार खरिद–बिक्री खाता व्यवस्थित नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, लेबल नभएका, पुनः प्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका उपभोग्य सामग्री बिक्री गर्ने पाँच फर्मबाट ७५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका तीनवटा फार्मेसीलाई भने सिल गरिएको छ।
अनुगमनका क्रममा विराटनगर–९ स्थित जयराम ट्रेडर्सबाट बिलबिजक नभएको ५४० किलो सुपारीसमेत बरामद भएको छ। उक्त फर्ममाथि थप कानुनी कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ।
यसैगरी, नेपाली नागरिकको नाममा फर्म दर्ता गरी अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरिरहेका दुई चिनियाँ नागरिकलाई पनि अनुगमन टोलीले पक्राउ गरेको छ। उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
चाडपर्वका बेला उपभोक्ता अधिकार संरक्षण, कालोबजारी नियन्त्रण र कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।




