वीरगंज,२३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने भन्दै सामाजिक सञ्जालमा आफैं उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि पर्सा क्षेत्र नम्बर १ का सांसद एवं रास्वपा पर्साका सभापति हरि पन्तले आपत्ति जनाएका छन्।
पन्तले शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै पार्टीको विधि र विधानबाहिर गएर कसैले पनि उम्मेदवारीको टिकट पाउन नसक्ने स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जालमा भइरहेका प्रचारबाजीका आधारमा भ्रममा नपर्न वीरगंजवासीलाई आग्रह गरेका छन्।
रास्वपाबाट मेयर, उपमेयर तथा वडाध्यक्षलगायतका पदमा उम्मेदवार बन्न पार्टीले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने पन्तले बताएका छन्। उनका अनुसार उम्मेदवार छनोटका लागि क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमीलगायतका प्रक्रिया अपनाइनेछ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मेयर, उपमेयर र वडाध्यक्षलगायतका उम्मेदवार बन्न पार्टीको आफ्नै विधि–विधानअनुरूप क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमीलगायतका प्रक्रियाअनुसार मात्र हुने भएकाले कसैले पनि विधिभन्दा बाहिर गएर पार्टीको टिकट लिन नसक्ने हुँदा आम वीरगंजवासीलाई कुनै प्रकारको भ्रममा नपर्न अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
पछिल्लो समय वीरगंज महानगरपालिकाको मेयर, उपमेयर तथा विभिन्न वडाका अध्यक्षलगायतका पदमा रास्वपाबाट उम्मेदवार बन्ने भन्दै सामाजिक सञ्जालमा व्यक्तिपिच्छे प्रचार गर्ने क्रम बढेको छ। पार्टीको आधिकारिक निर्णय नहुँदै आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति लक्षित गर्दै पन्तले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
यसअघि पनि उम्मेदवारीसम्बन्धी प्रचारबाजी बढेपछि पन्तले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको औपचारिक प्रक्रिया पूरा नगरी आफूलाई उम्मेदवार घोषणा नगर्न आग्रह गरेका थिए। उक्त विज्ञप्तिपछि केही समय यस्तो प्रचार रोकिए पनि पछिल्लो समय पुनः उम्मेदवारी घोषणा गर्ने क्रम बढेको उनको पछिल्लो अभिव्यक्तिले देखाउँछ।
पन्तले पार्टीको नाममा भइरहेको प्रचारकै आधारमा कसैलाई आधिकारिक उम्मेदवार नमान्न पनि वीरगंजवासीलाई आग्रह गरेका छन्। रास्वपाको विधि र विधानअनुसार निर्धारित प्रक्रिया पूरा गरेपछि मात्रै उम्मेदवार बन्न सकिने उनको भनाइ छ।




