spot_img

सरावगीको रास्वपा प्रवेशमा विवाद, सदस्यता खारेज गर्न जिल्ला समितिको माग

spot_img
spot_img

वीरगंज,२३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला कार्यसमितिले वीरगंज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको नाममा जारी सदस्यता खारेज गर्न पार्टीको केन्द्रीय नेतृत्वसँग माग गरेको छ।

सरावगीको रास्वपा प्रवेशको चर्चा चलिरहेका बेला जिल्ला कार्यसमितिले उनको सदस्यताप्रति असहमति जनाउँदै खारेजीको माग गरेको हो।

रास्वपा पर्साका जिल्ला सचिव सुदिश प्रजापतिले शुक्रबार पार्टीका महामन्त्रीलाई पत्र पठाउँदै सरावगीको सदस्यता खारेज गर्न आग्रह गरेका छन्। पत्रमा सरावगीको सदस्यता नम्बर PRS1ख-000435776 उल्लेख गर्दै पार्टीको अनलाइन पोर्टलबाट सदस्यता जारी भएको भए पनि यसबारे जिल्ला कार्यसमितिलाई जानकारी नगराइएको जनाइएको छ।

पत्रमा सरावगीको सदस्यताप्रति पर्साका पार्टीका नेता तथा कार्यकर्ताको असहमति रहेको उल्लेख गर्दै उक्त सदस्यता खारेज गर्न माग गरिएको छ। पत्रको बोधार्थ पार्टीका संगठन प्रमुख प्रमोद न्यौपाने, पर्सा जिल्ला कमिटी तथा जिल्ला र वडा कमिटीहरूलाई समेत दिइएको छ।

सरावगीले नेकपा एमालेका सबै जिम्मेवारी त्याग्दै पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे वीरगंजमा चर्चा सुरु भएको थियो। त्यसपछि उनले रास्वपाको अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको थियो।

उनको नाममा सदस्यता नम्बरसमेत सार्वजनिक भएपछि आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सक्ने अड्कलबाजी हुन थालेको थियो। तर, रास्वपामा उनको आबद्धता र सम्भावित उम्मेदवारीबारे पार्टीको औपचारिक निर्णय सार्वजनिक भएको छैन।

यसैबीच, पर्सा क्षेत्र नम्बर १ का रास्वपा सांसद तथा जिल्ला सभापति हरि पन्तले पार्टीबाट मेयर, उपमेयर र वडाध्यक्षका उम्मेदवार छनोट निश्चित विधि र विधानअनुसार हुने स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीको निर्धारित प्रक्रियाबाहिर गएर कसैले पनि टिकट लिन नसक्ने भन्दै वीरगंजवासीलाई भ्रममा नपर्न आग्रह गरेका थिए।

तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगंज महानगरपालिकाको मेयर निर्वाचित भएका सरावगीले २०७८ फागुनमा जनता समाजवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका थिए। त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर पदमा प्रतिस्पर्धा गरेका उनी राजेशमान सिंहसँग पराजित भएका थिए।

सरावगीले एमाले परित्याग गरेको घोषणा, रास्वपा सदस्यताबारे सार्वजनिक भएको विवरण र जिल्ला कार्यसमितिले सदस्यता खारेजीको माग गरेपछि उनको राजनीतिक भविष्यबारे चासो बढेको छ। अब जिल्ला कार्यसमितिको मागबारे रास्वपाको केन्द्रीय नेतृत्वले गर्ने निर्णयले यस विषयमा थप स्पष्टता ल्याउनेछ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय