वीरगंज,२३ असाेज । वडा दसैंको सार्वजनिक बिदामा पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज खुला रहने भएको छ । अदालतले दसैं बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा तथा अन्य अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गर्ने जनाएको छ ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार घटस्थापनादेखि १५ दिनसम्म अदालतबाट अत्यावश्यक न्यायिक सेवा प्रवाह गरिनेछ । असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत खुला रहने उनले जानकारी दिए ।
अदालतका अनुसार सार्वजनिक बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म न्याय प्रशासनसम्बन्धी कामकारबाही सञ्चालन हुनेछ । बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
उपरजिस्ट्रार पाण्डेका अनुसार बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा तथा वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ ।
‘सार्वजनिक बिदाका दिन पनि बन्दीप्रत्यक्षीकरण, वाणिज्यतर्फका पक्राउ पुर्जी अनुमतिसहितका अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुन्छ । त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालतको कामकारबाही सञ्चालन गरिनेछ,’ पाण्डेले भने ।
अदालतका अनुसार घटस्थापना, विजयादशमी र शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गरिनेछ ।




