काठमाडौं,२३ असाेज । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकले पाउने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च नदिएको गुनासो प्राप्त भएपछि विभागले यस्तो निर्देशन दिएको हो । विभागले कानुनअनुसार श्रमिकलाई पाउनुपर्ने सुविधा उपलब्ध गराउन र खर्च नदिने रोजगारदातामाथि उजुरी गर्नसमेत आग्रह गरेको छ ।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ । प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि यस्तो खर्च उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ ।
विभागले चाडपर्व खर्च नपाएका श्रमिकलाई आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन आग्रह गरेको छ । श्रमिकले इमेलमार्फत पनि उजुरी, गुनासो तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ । यसका लागि विभागले क्यूआर कोडसमेत उपलब्ध गराएको छ ।
विभागका प्रवक्ता मणिनाथ गोपले केही रोजगारदाता तथा प्रतिष्ठानबाट चाडपर्व खर्च उपलब्ध नगराइएको गुनासो आइरहेको बताए । उनले कानुनले तोकेको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदातालाई निर्देशन दिइएको र त्यसको पालना नगर्नेमाथि श्रम ऐनअनुसार कारबाही हुने स्पष्ट पारे ।




