spot_img

आइतबारदेखि उपत्यकाका ६ ठाउँमा ग्यास किन्न र सिलिन्डर साट्न पाइने

spot_img
spot_img

काठमाडौं,२३ असाेज । काठमाडौं उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति तथा सिलिन्डर साटफेरको व्यवस्था मिलाउन आइतबारदेखि ६ स्थानमा विशेष बिक्री केन्द्र सञ्चालन हुने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार असोज २५ गतेदेखि ३१ गतेसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ । ती केन्द्रहरू हरेक दिन बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछन् ।

संघले तोकेका केन्द्रहरूमा विभिन्न ब्रान्डका ग्यास उपलब्ध हुनेछन् । काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री तथा साटफेर गरिनेछ ।

त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध हुने संघले जनाएको छ । उपभोक्ताले आवश्यक जानकारीका लागि सम्बन्धित बिक्री केन्द्रमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन् ।

संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको छ । गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ ।

ग्यासको आपूर्ति सहज रहे पनि चाडपर्व नजिकिँदै गर्दा केही उपभोक्ताले सहजै ग्यास नपाएको र फरक ब्रान्डका सिलिन्डर साट्न नपाउँदा समस्या भएको गुनासो गरेका थिए । उपभोक्ताका यी समस्या सम्बोधन गर्न विशेष बिक्री तथा साटफेर केन्द्र सञ्चालन गर्न लागिएको संघका अध्यक्ष दिवान चन्दले बताए ।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गर्न लागिएको हो ।

संघले तोकेका केन्द्रमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गर्न सकिने स्पष्ट पारेको छ । तोकिएका विशेष बिक्री केन्द्रबाहेक अन्य स्थानमा भने यो सुविधा उपलब्ध नहुने संघले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय