काठमाडौं,२३ असाेज । संघीय निजामती सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश आउन सक्ने चर्चापछि संघीय संसद् सचिवालयका सात कर्मचारीले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था ल्याउन लागेको चर्चासँगै कर्मचारीहरूले राजीनामा दिएका हुन् ।
संसद् सचिवालय स्रोतका अनुसार असोज १६ गतेयता राजीनामा दिने कर्मचारीको संख्या सात पुगेको छ । राजीनामा दिनेमा प्राविधिक अधिकृत सुदर्शन गौतम, मुद्रण अधिकृत राजेन्द्र लामिछाने, प्राविधिक अधिकृत नरेश श्रेष्ठ, नायब सुब्बा दीपेन्द्र केसी, शाखा अधिकृत गणेश सिम्खडा तथा कार्यालय सहयोगी लक्ष्मी गिरी र चिरिकाजी महर्जन छन् ।
संसद् सचिवालयमा ३४ वर्ष सेवा गरेका प्राविधिक अधिकृत गौतमले उमेर हदका आधारमा अवकाश पाउन अझै ६ वर्ष दुई महिना बाँकी रहे पनि राजीनामा दिएको बताए । ‘केही समय बाँकी थियो । निजामती विधेयकमा ५५–३० भन्ने विषय आयो, यो सन्दर्भमा राजीनामा नै दिऔँ भन्ने लाग्यो,’ उनले भने ।
सरकारले संसद् सेवाका कर्मचारीलाई समेत समेट्ने गरी ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधानसहितको संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरिसकेको छ । तर, संसद् अधिवेशन अन्त्य भइसकेकाले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउन सक्ने चर्चा कर्मचारी वृत्तमा चलिरहेको छ ।
हाल संसद् सेवाका कर्मचारीका लागि छुट्टै ऐन, २०६४ लागू छ । प्रस्तावित संघीय निजामती सेवा विधेयकले संसद् सेवाका कर्मचारीलाई पनि समेट्ने भएपछि उनीहरूमा सेवासम्बन्धी विद्यमान व्यवस्था परिवर्तन हुने चिन्ता देखिएको छ ।
एक कर्मचारीले आफूहरूले सेवा प्रवेश गर्दा कायम रहेका सर्त र अधिकार परिवर्तन हुने अवस्था देखिएकाले राजीनामा दिएको बताए । ‘स्थायी सरकार को हो ? प्रश्न खडा भयो,’ उनले भने ।
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३० वर्ष सेवा अवधि पूरा भएका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ । तर, संक्रमणकालीन व्यवस्थाअन्तर्गत एक पटकका लागि ५८ वर्ष उमेरको सुविधा दिएर अवकाश दिने र त्यसपछि अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्तावसमेत मस्यौदामा रहेको छ ।
अध्यादेशमार्फत यस्तो व्यवस्था लागू हुने वा नहुने विषयमा अनिश्चितता कायम रहँदा संसद् सचिवालयका कर्मचारीले राजीनामा दिन थालेका हुन् ।




