spot_img

लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मा राजनीतिक दलकै हो : भण्डारी

spot_img
spot_img

काठमाडौं,२३ असाेज । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि खतरा देखिएको बताएकी छन् । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताएकी हुन् ।

भण्डारीको भनाइ उद्धृत गर्दै एमाले सचिव पद्मा अर्यालले लोकतन्त्र र संविधानको संरक्षणमा राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने धारणा राखेको जानकारी दिइन् ।

‘मुलुकमा लोकतन्त्र र संविधानप्रति जुन खालको खतरा देखिएको छ, यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्यालले भनिन्, ‘जसले लोकतन्त्रको स्थापना गरे, तिनै दलले यसको रक्षा गर्ने हो ।’

बैठकमा भण्डारीले आफू विगतमा पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको स्मरण गराएकी थिइन् । लोकतन्त्रप्रतिको आफ्नो विश्वास र प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले पार्टीमा फर्किनुको उद्देश्य लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनु रहेको बताइन् ।

‘हिजो पनि म लोकतान्त्रिक आन्दोलनमा सरिक भएँ । त्यसप्रति अगाध माया र विश्वास छ । पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन मद्दत र सहयोग गर्न सक्छु भन्ने मनसायका साथ म पार्टीको जीवनमा फर्किएकी हुँ,’ भण्डारीले बैठकमा भनेकी थिइन् ।

एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय