वीरगंज, २३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् ।
सरकारले सिफारिस गरेका तीन वटा अध्यादेशमध्ये राष्ट्रपति कार्यालयले हाललाई एउटा मात्र अध्यादेश जारी गरेको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी अध्यादेश प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आएको छ।
सरकारले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी तीन वटै अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस पठाएको थियो। तर भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेशहरू भने अझै अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
विशेष गरी भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्लाई मध्यनजर गर्दै यो अध्यादेश ल्याइएको हो। नयाँ अध्यादेश लागू भएसँगै अब प्राकृतिक विपद्मा परी बेपत्ता भएका व्यक्तिहरूलाई ४५ दिनमै कानूनी रूपमा मृतक घोषणा गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न कम्तीमा १२ वर्ष पर्खनुपर्ने कानूनी प्रावधान थियो।
अध्ययनकै क्रममा रहेको भूमिसम्बन्धी अध्यादेशमा भने भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषयहरू समावेश छन्, जुन राष्ट्रपतिबाट स्वीकृत हुन बाँकी छ।




