वीरगंज, २३ असोज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म उक्त अभियान चलाउने निर्णय गरेको हो।
महाधिवेशन तथा आगामी स्थानीय र प्रदेश निर्वाचनको पूर्वतयारी गर्नका साथै सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको वातावरण बनाउन अभियान सञ्चालन गर्न लागिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकले साङ्गठनिक कार्यतालिका तय गर्दै पुस ११ गते देशभरका सम्पूर्ण वडास्तरका अधिवेशनहरू र माघ १५ गते एकैदिन पालिकास्तरीय अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए ।
यसैगरी, बैठकले ‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै, पार्टीका कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने निर्णय गर्दै प्रवास, श्रमजीवी मजदुर र किसान क्षेत्रको सङ्गठनलाई थप सशक्त र व्यवस्थित बनाउने नीति लिइएको छ।




