वीरगंज,२४ असाेज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी महतो रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो करिब १ः५० बजे आफ्नै घरपछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी सिरिया देवीलाई उनका श्रीमान् रामचन्द्र महतोले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्याएका थिए । अस्पतालमा ईसीजी परीक्षण गर्दा चिकित्सकले दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा खटिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव सिटी स्टार अस्पतालमै राखिएको प्रवक्ता घलेले जानकारी दिए ।




