वीरगंज,२४ असाेज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
दशैं, दीपावली तथा छठजस्ता चाडपर्वका नाममा विपद्पीडितको पीडालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि अधिकारसम्पन्न छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।
आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै साहले बाढीपीडितको अवस्था अझै दयनीय रहेको बताए ।
‘बाढीपीडितको अवस्था विजोग छ । बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व हुन्छ ?’ उनले प्रश्न गरे ।
विपद्मा परेका नागरिकलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने बताउँदै साहले प्रभावित परिवारको सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । राहत वितरण, क्षतिको मूल्यांकन, पुनःस्थापना र पुनर्निर्माणका कामलाई एकीकृत योजनामार्फत अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष साहले चाडपर्वका बेला बजारमा हुने महँगी, कालोबजारी र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र उचित मूल्य सुनिश्चित गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने उनले बताए ।
खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तासँग मनपरी मूल्य असुल्ने प्रवृत्तिमाथि कडाइ गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
साहले दशैं, दीपावली र छठका नाममा अत्यावश्यक सार्वजनिक सेवा अवरुद्ध हुन नहुने बताएका छन् । स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, खानेपानी र सञ्चारजस्ता सेवा चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।
‘दशैं, दीपावली वा छठका नाममा अत्यावश्यक सेवा बन्द गर्न मिल्दैन,’ उनले भने, ‘स्वास्थ्य सेवा र शान्ति सुरक्षा २४सै घण्टा सुनिश्चित हुनुपर्छ ।’
चाडपर्वका बेला धार्मिक तथा पर्यटकीय स्थलमा भीड बढ्ने भएकाले सुरक्षा व्यवस्था मजबुत बनाउन र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुपर्ने उनले बताए । यात्रुको चापको मौका छोपेर मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कारबाही आवश्यक रहेको उनको भनाइ थियो ।
त्यस्तै, बाढीपहिरो वा अन्य कारणले राजमार्ग तथा मुख्य सडक अवरुद्ध हुँदा यात्रु लामो समयसम्म अलपत्र पर्ने अवस्था आउन नदिन सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्नुपर्ने उनले बताए ।
सडक अवरोध हटाउने, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तथा सम्भावित दुर्घटना र आपत्कालीन अवस्थालाई ध्यानमा राखेर उद्धार र राहत संयन्त्र सक्रिय राख्न पनि उनले सरकारसँग आग्रह गरे ।
साहले चाडपर्वलाई उत्सवमा मात्र सीमित नगरी विपद्मा परेका नागरिकको पीडा बुझ्ने अवसरका रूपमा लिनुपर्ने बताए । विपद्पीडित, गरिब तथा विपन्न परिवारलाई राहत र सहयोग उपलब्ध गराउँदै सबै नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रम आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष धनकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव देवी पण्डित रेग्मी, प्रवक्ता सुभाष साह, सचिव विजय यादव लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक एवं उपत्यका विशेष कमिटीका सचिव रवि ध्वज कार्कीले जानकारी दिए ।




