काठमाडौं,२५ असाेज । बलिउड अभिनेता सलमान खानले आफ्नै युट्युब च्यानल सुरु गरेका छन्। ‘बिइङ द सलमान खान’ नाम दिइएको उक्त च्यानलमार्फत उनले विशेषगरी बालबालिकालाई लक्षित शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्ने भएका छन्।
टेलिभिजन रियालिटी शो ‘बिग बोस–२०’ सञ्चालनमा व्यस्त सलमानले नयाँ डिजिटल प्लेटफर्ममार्फत बालबालिकालाई शिक्षा र मनोरञ्जनसँग जोड्ने प्रयास गरेका हुन्।
सलमानले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ च्यानलको उद्देश्यबारे जानकारी दिएका छन्। उनले च्यानलमा प्रस्तुत हुने सामग्री सबै उमेर समूहका दर्शकका लागि नभए पनि साना बालबालिकाका लागि उपयोगी हुने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो युट्युब च्यानल हेर्नुभएकोमा धन्यवाद। मलाई थाहा छ, अहिलेका लागि यो सामग्री तपाईंका लागि नहुन सक्छ, तर तपाईंका साना बच्चाहरूका लागि हो। शिक्षा, थोरै रमाइलो, माया र परिवार बालबालिकाका लागि महत्त्वपूर्ण छन्।’
च्यानलमा मनोरञ्जनसँगै सिकाइलाई प्राथमिकता दिइएको देखिन्छ। पहिलो भिडियोमा सलमान दुई फरक भूमिकामा प्रस्तुत भएका छन्। एउटा भूमिकामा उनी प्रशिक्षक बनेका छन् भने अर्कोमा विद्यार्थीका रूपमा देखिएका छन्। भिडियोमा उनको विशिष्ट शैली, शारीरिक हाउभाउ र संवाद प्रस्तुत गर्ने तरिकालाई रमाइलो ढङ्गले सिकाइएको छ।
प्रारम्भिक चरणमा च्यानलमा १० वटा छोटा भिडियो सार्वजनिक गरिएको छ। उपलब्ध विवरणअनुसार च्यानलमा ७३ हजारभन्दा बढी सब्सक्राइबर जोडिएका छन्।
पछिल्लो समय भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका कलाकारले आफ्ना दर्शकसँग प्रत्यक्ष जोडिन युट्युबलाई पनि प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्। अल्लु अर्जुन र मोहनलालजस्ता फिल्म स्टारका आफ्नै आधिकारिक युट्युब च्यानल छन्। त्यस्तै, दीपिका कक्कड, शोएब इब्राहिम, जन्नत जुबैर र अनुष्का सेनलगायत कलाकारले पनि युट्युबमार्फत जीवनशैली, भ्लग तथा दैनिक गतिविधिसम्बन्धी सामग्री प्रस्तुत गर्दै आएका छन्।
सलमानको नयाँ च्यानलले भने बालबालिकाका लागि शिक्षा, मनोरञ्जन, माया र पारिवारिक मूल्यलाई समेटिएका सामग्री प्रस्तुत गर्ने लक्ष्य राखेको छ।




