वीरगंज,२६ असोज । पूर्व कृषि तथा पशुपन्छी विकासमन्त्री एवं बारा–३ की निवर्तमान प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साहले कलैया उपमहानगरपालिका–३ भवानीपुरस्थित श्री सिदेश्वर संस्कृत माध्यमिक विद्यालयमा निर्माण हुने आठकोठे भवनको शिलान्यास गरेकी छन् ।
सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा साहले १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको शिलान्यास गरेकी हुन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्येष्ठ नागरिक भदै रामको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले आफू सांसद रहेका बेला सिदेश्वर संस्कृत माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयका लागि जनही १ करोड ५० लाख रुपैयाँका दरले कुल ३ करोड रुपैयाँ बजेट विनियोजन गराउन पहल गरेको बताइन् ।
सिदेश्वर संस्कृत माध्यमिक विद्यालय बाराको ऐतिहासिक शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै उनले यसको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकता दिएको बताइन् । सांसद रहँदा विद्यालयको अनुगमन गर्ने क्रममा विद्यार्थीलाई बस्न पर्याप्त र उपयुक्त कक्षाकोठा नभएको देखेपछि पूर्वाधार निर्माणका लागि पहल गरेको उनको भनाइ थियो ।
‘संस्कृत शिक्षालाई प्रोत्साहन गर्दै विद्यार्थीको संख्या बढाउन हामी सबैले मिलेर काम गर्नुपर्छ,’ साहले भनिन् ।
उनले भवन निर्माणको काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सरकारको उतारचढावका कारण निर्माण प्रक्रिया ढिलो भएको बताइन् । निर्माण कार्यको गुणस्तर र प्रगतिबारे जानकारी लिन शिक्षक, अभिभावक तथा विद्यार्थीलाई नियमित अनुगमन गर्न पनि उनले आग्रह गरिन् ।
विद्यालयको शैक्षिक र भौतिक विकासका लागि शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबीच नियमित छलफल आवश्यक रहेको बताउँदै साहले प्रत्येक महिना बैठक बसेर सुधारका योजना बनाउन सुझाव दिइन् ।
आफू डेंगुबाट बिरामी भएर काठमाडौंमा उपचार गराउँदा चिकित्सकले सात दिन अस्पतालमा भर्ना भएर बस्न सुझाव दिए पनि सामाजिक सेवाप्रतिको प्रतिबद्धताका कारण जनताको सेवामा सक्रिय रहेको उनले बताइन् ।
संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनसँगै विद्यालयलाई व्यवस्थित तथा गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिइन् ।
कार्यक्रममा कलैया उपमहानगरपालिका–३ का वडाध्यक्ष मोहन साह कानु, वडा नम्बर १ का वडाध्यक्ष मोहनबहादुर क्षेत्री, वडा नम्बर २७ का वडाध्यक्ष अशोककुमार तिवारी, मन्दिर संरक्षण समितिका अध्यक्ष मणिनन्द्रनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीलगायत शिक्षक तथा कर्मचारीको उपस्थिति थियो ।




