वीरगंज, २६ असोज । वीरगंजसहित बारा र पर्साका छ वटा पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।
ग्रामीण बस्ती र सहायक सडकलाई मुख्य राजमार्ग तथा सहरी केन्द्रहरूसँग जोड्दै सर्वसाधारणको आवागमनलाई सहज बनाउने उद्देश्यले अन्तरपालिका सार्वजनिक यातायात सेवा सुरु गर्न लागिएको हो।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले यातायात सेवा सञ्चालनको प्रारूप तयार पार्न र आवश्यक समन्वय गर्न एक अध्ययन समिति गठन गरेको छ। वीरगंज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन् ।
गठित समितिले सम्भावित रुट, सवारी व्यवस्थापन, सञ्चालन ढाँचा, इन्धन, चालक÷सहचालकको पारिश्रमिक, मर्मतसम्भार तथा पालिकाहरूबीच खर्च बाँडफाँटको ढाँचाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। यसैगरी प्रसौनी
गाउँपालिका र पोखरिया नगरपालिकासँग समेत समन्वय गरी आगामी बैठकमा सहभागी गराइने बताइएको छ।
प्रस्तावित यातायात सेवा सञ्चालनमा आएपछि मुख्य सडकभन्दा टाढा रहेका ग्रामीण भेगका नागरिकलाई अस्पताल, बजार, शैक्षिक संस्था र सरकारी कार्यालयसम्म पुग्न सहज हुनेछ। बैठकमा जितपुरसिमराका प्रमुख राजन पौडेल, कलैयाका प्रमुख विनोद साह, परवानीपुरका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी तथा वीरगंजका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरालगायतको सहभागिता रहेको थियो।




