वीरगंज, २६ असोज । सरकारले नयाँ तथा पुराना सवारीसाधन खरिद र नामसारी गर्दा खरिदकर्ता स्वयं अनिवार्य रूपमा यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनु नपर्ने गरी प्रक्रिया निकै सहज बनाएको छ।
पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो।
नयाँ नियमअनुसार, अब नयाँ गाडी वा मोटरसाइकल किन्दा डिलर (सोरुम)मा नै गरिएको प्राविधिक चेकजाँचलाई मान्यता दिइनेछ। यसअघि दर्ताका बेला फेरि यातायात कार्यालयमै सवारी पुर्याएर चेकजाँच गराउनुपर्ने बाध्यता अन्त्य भएको छ।
त्यस्तै, गाडी खरिदकर्ता कार्यव्यस्तता वा अन्य कारणले कार्यालय जान नसकेमा वारेसनामा दिएर अर्को व्यक्तिलाई पठाउन सक्नेछन्। खरिदकर्ताको वारेसनामा, सक्कल परिचयपत्र र फोटोसहित वारेस प्राप्त व्यक्ति कार्यालय उपस्थित भएमा दर्ता र नामसारीको काम सम्पन्न हुनेछ। सवारीसाधनको बीमा वा नवीकरण गर्दा पनि अब सवारीधनी आफैँ भौतिक रूपमा उपस्थित भइरहनुपर्ने छैन।
सवारी नामसारी र दर्ता प्रक्रियालाई प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले आफ्नो भीआरएस प्रणालीमा प्राविधिक सुधार गर्दैछ। अब सवारी विक्रेता वा शोरुमहरूले बायोमेट्रिक लिन मिल्ने पूर्वाधार तयार गरी प्रणालीमा पहुँच मागेपछि कार्यालयले बायोमेट्रिक सुविधा उपलब्ध गराउनेछ। यसबाट नागरिकले शोरुमबाटै धेरैजसो कागजी प्रक्रिया पूरा गर्न सक्नेछन्।




