वीरगंज,२७ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई प्रभावकारी र बलियो बनाउन प्रदेश सरकारलाई अधिकारसम्पन्न तथा सक्षम बनाउनुपर्ने बताएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पर्याप्त अधिकार र वित्तीय स्रोत उपलब्ध नगराएसम्म प्रदेशबीचको सहकार्य दिगो हुन नसक्ने बताएका हुन् ।
प्रदेशहरूबीचको साझेदारीलाई बलियो बनाउन प्रत्येक प्रदेश आफैँ सक्षम हुनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकार अधिकार माग्न मात्र नभई जिम्मेवारी बहन गर्न पनि तयार रहेको स्पष्ट पारे ।
‘साझेदारीले प्रदेशहरूलाई जोड्छ, तर प्रदेश आफैँमा सक्षम नभई सहकार्य टिक्दैन,’ उनले भने ।
सम्मेलनमा मधेश प्रदेशका तर्फबाट दुईवटा मस्यौदा दस्तावेज प्रस्तुत गर्दै मुख्यमन्त्री यादवले ‘अन्तरप्रदेश प्राथमिकता प्राप्त प्रमुख सहकार्य कार्यक्रम’ र ‘संघीय सरकारसमक्ष पेस गर्ने साझा विषय’ समेटिएको जानकारी दिए ।
मधेशलाई कृषिको भण्डार, व्यापारको प्रवेशद्वार र जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक महत्त्वको केन्द्रका रूपमा प्रस्तुत गर्दै उनले प्रदेशबीचको साझेदारीलाई सहयोग माग्ने माध्यमका रूपमा नभई साझा समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने बताए ।
‘साझा समस्याबाट संयुक्त योजना, संयुक्त योजनाबाट सहलगानी र सहलगानीबाट साझा समृद्धि हाम्रो मूल मन्त्र हुनुपर्छ,’ मुख्यमन्त्री यादवले भने ।
उनले मधेश प्रदेशमा उत्पादन हुने केरा, आँप, लिची, अदुवा र बेसारजस्ता उच्च मूल्यका कृषि उपजको साझा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन प्रदेश तयार रहेको बताए । यसबाट कृषि उत्पादनको बजारीकरण र किसानको आय वृद्धि गर्न सकिने उनको भनाइ थियो ।
त्यसैगरी, पर्यटन प्रवर्द्धनका लागि ‘एक यात्रा, अनेक प्रदेश’ अवधारणाअनुसार काम गर्नुपर्नेमा उनले जोड दिए । जनकपुरधाम, विवाहपञ्चमी र मिथिला कलालाई कोशी प्रदेशका रामधुनी तथा वराहक्षेत्र र लुम्बिनीजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर पर्यटन सर्किट निर्माण गर्नुपर्ने प्रस्ताव उनले अघि सारे ।
संघीयता कार्यान्वयन भएको एक दशक पुग्न लाग्दासमेत प्रहरी समायोजन, निजामती सेवा ऐन, शिक्षा ऐन र स्वास्थ्य सेवा ऐन जारी नहुँदा प्रदेश सरकारको कामकारबाहीमा जटिलता रहेको उनले बताए ।
प्रहरीसम्बन्धी कानुन बने पनि आवश्यक कानुनी व्यवस्था, जनशक्ति र सम्पत्ति हस्तान्तरण नहुँदा प्रदेशले अपेक्षित रूपमा काम गर्न नसकेको उनको गुनासो थियो ।
‘प्रहरी ऐन बने पनि आवश्यक कानुन, जनशक्ति र सम्पत्ति हस्तान्तरण नहुँदा खुला सीमा भएको मधेशमा तस्करी र सीमापार अपराध नियन्त्रणमा सोचेजस्तो काम गर्न सकिएको छैन,’ उनले भने, ‘संघीय सरकारले तत्काल समायोजन प्रक्रिया टुङ्ग्याउनुपर्छ ।’
मुख्यमन्त्री यादवले प्रदेश सरकारका कार्यालयमा संघीय सरकारले सचिव पठाउने र एउटै कामका लागि संघ तथा प्रदेश दुवैतर्फ छुट्टाछुट्टै संरचना निर्माण गर्ने प्रवृत्तिले प्रदेशको स्वायत्तता कमजोर बनाएको बताए ।
उनले संघीय सरकारलाई नयाँ कार्यालय स्थापना नगर्न र हाल सञ्चालनमा रहेका आवश्यक कार्यालय तथा संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरे । संघीयताको मर्मअनुसार प्रदेशलाई अधिकार, स्रोतसाधन र प्रशासनिक जिम्मेवारी हस्तान्तरण गरिए मात्रै संघीय शासन प्रणाली प्रभावकारी हुने उनको भनाइ थियो ।




