वीरगंज,२७ असोज । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बारामा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा मंगलबार प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
‘विपद्मा सारथी, संकटमा छहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले गरेका थिए । उनले प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, प्रहरी निरीक्षकहरू प्रकाश खड्का र विमल खतिवडा, प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका कर्मचारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले रक्त अभावका बेला बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




