spot_img

स्वीकृतिविपरीत इन्टरनेट प्याकेज बिक्री गर्ने १४ सेवा प्रदायकलाई जरिवाना

spot_img
spot_img

काठमाडौं,२७ असाेज । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

प्राधिकरणले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम कारबाही गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी नदिएको पाइएपछि सेवा प्रदायकलाई जरिवाना गरिएको हो ।

स्वीकृत इन्टरनेट गति र प्याकेजअनुसार सेवा उपलब्ध नगराउनु तथा स्वीकृत दरभन्दा बढी शुल्क लिनु उपभोक्ताको हितविपरीत भएको प्राधिकरणले जनाएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न कारबाही गरिएको प्रवक्ता अर्यालले बताए ।

प्राधिकरणका अनुसार शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम सेवा प्रदायकले प्रस्तावित दर र लागू हुने मितिसमेत उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था छ । तर, केही सेवा प्रदायकले उक्त व्यवस्थाको पालना नगरेको पाइएको छ ।

प्राधिकरणका अनुसार जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम, फाइबरवर्ल्ड कम्युनिकेसन, भायानेट कम्युनिकेसन्स, एरोनेट, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिंक कम्युनिकेसन्स, फर्स्ट लिंक कम्युनिकेसन, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु रहेका छन् ।

प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशनसमेत दिएको छ । अनधिकृत सेवा सञ्चालनका कारण कुनै ग्राहकलाई हानिनोक्सानी भएको भए ग्राहकको मागअनुसार क्षतिपूर्ति वा हानिनोक्सानीको बिगो भराउन पनि निर्देशन दिइएको छ ।

त्यसैगरी, प्राधिकरणले सबै अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ । प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्त पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिएको छ ।

यसअघि असोज २४ गते प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणले सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको जनाएको थियो । साथै, स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्थाको पालना गर्न सेवा प्रदायकलाई स्मरण गराएको थियो ।

स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न पनि सेवाग्राहीलाई आग्रह गरिएको छ । उपभोक्ताको हित संरक्षण, स्वच्छ प्रतिस्पर्धा प्रवर्द्धन र इन्टरनेट सेवालाई व्यवस्थित बनाउन कानुनअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय