काठमाडौं,२७ असाेज । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम उपलब्ध गराएको छ ।
संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवार तथा कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेकी हुन् ।
भोटेकोशी बाढीमा बहालवाला १३ जना र अवकाशप्राप्त एक जना गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए । बाढीमा एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए भने दुई जना सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्यसमेत बेपत्ता भएका थिए ।
संघले बेपत्ता भएका बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै, परिवारका सदस्य बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई जनही १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त कर्मचारीलाई पनि १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
अध्यक्ष पौडेलले बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवारलाई राहत रकम हस्तान्तरण गरेकी थिइन् । त्यसैगरी, अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगरका परिवार तथा परिवारका सदस्य बेपत्ता भएका दुई जना महिला सशस्त्र प्रहरी कर्मचारीलाई पनि राहत रकम प्रदान गरिएको छ ।
बेपत्ता भएका अन्य सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई भेटेर राहत रकम उपलब्ध गराइने संघले जनाएको छ ।
यसैबीच, संघकी अध्यक्ष पौडेलले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्न ५० हजार ५५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेकी छन् ।
सशस्त्र प्रहरी परिवार महिला संघले आफूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न आयमूलक गतिविधि सञ्चालन गर्दै आएको छ । ती गतिविधिबाट संकलित रकमबाटै बाढी प्रभावितलाई राहत उपलब्ध गराइएको संघले जनाएको छ ।




