काठमाडौं,२७ असोज । दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार चाडपर्वमा नागरिकको जनधनको सुरक्षा, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
चाडपर्वका बेला ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार र अवैध हुन्डी कारोबारजस्ता गतिविधि बढ्न सक्ने आकलन गर्दै प्रहरीले सोहीअनुसार सुरक्षा रणनीति बनाएको छ । खुला सीमानाकाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी नियन्त्रणका लागि पनि विशेष निगरानी गरिने प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयअन्तर्गत गरी ५० हजार ४५८ जना प्रहरी परिचालन हुनेछन् । तीमध्ये काठमाडौं उपत्यकामा ७ हजार ६६८, कोशी प्रदेशमा ८ हजार १३३, मधेश प्रदेशमा ७ हजार २३०, बागमती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ जना प्रहरी खटिनेछन् ।
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । यसका लागि देशभरका विभिन्न स्थानमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी १ हजार १६५ जना प्रहरी परिचालन गरिएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ जना प्रहरी परिचालन गरिएको छ ।
यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका वा भेटिएका व्यक्ति तथा सामानका विषयमा समन्वय गर्ने, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष सहायता उपलब्ध गराउने तथा यात्रुका गुनासा तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पुर्याउने व्यवस्था मिलाइएको छ ।
प्रहरीले यसपटकको चाडपर्व सुरक्षा योजनामा परम्परागत निगरानीसँगै प्रविधिमा आधारित सुरक्षा व्यवस्थालाई प्राथमिकता दिएको छ । सुरक्षा निगरानीका लागि सीसीटीभी तथा बडीवर्न क्यामेराको प्रयोग, ड्रोनबाट निगरानी र तालिमप्राप्त कुकुर परिचालन गरिने प्रवक्ता काफ्लेले बताए ।
प्रहरी सञ्चार प्रणालीमार्फत तत्काल सूचना आदानप्रदान गर्नुका साथै सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको निगरानी र विश्लेषण गरी सम्भावित सुरक्षा चुनौती पहिचान गरिनेछ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुन सक्ने झैझगडा, लुटपाट र अन्य अप्रिय घटनाबाट शान्ति सुरक्षामा असर पर्न नदिन पनि विशेष सतर्कता अपनाइने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रु सुरक्षालाई ध्यान दिँदै प्रहरीले प्रस्थान गर्नुअघि नै चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र सवारीसाधनको यान्त्रिक परीक्षणसम्बन्धी प्रमाणपत्र जाँच गर्नेछ ।
लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको पनि ट्राफिक कम्युनिकेसन एपको प्रयोग गरी जाँच गरिने प्रहरीले जनाएको छ ।
यसका साथै बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक र चोक, सहरका प्रवेश तथा निकास नाका र सुनचाँदीलगायत बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइनेछ ।
चाडपर्वमा आकर्षक उपहार तथा छुटको प्रलोभन देखाएर हुन सक्ने नक्कली अनलाइन किनमेल, बैंकिङ ठगी र फिसिङजस्ता डिजिटल अपराध नियन्त्रणमा पनि प्रहरीले विशेष ध्यान दिएको छ ।
प्रहरीले ओटीपी, पिन र पासवर्डजस्ता गोप्य विवरण माग्ने व्यक्तिलाई त्यस्ता विवरण उपलब्ध नगराउन नागरिकलाई आग्रह गरेको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरिने प्रहरीले जनाएको छ ।




