वीरगंज, २७ असोज । कोशी प्रदेशमा डेंगु संक्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ।
प्रदेशका १४ मध्ये १३ जिल्लामा डेंगुको फैलावट देखिएको छ भने झापा जिल्ला डेंगु संक्रमणको सबैभन्दा उच्च जोखिममा परेको छ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशभर ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये झापामा मात्रै २ सय २८ जना संक्रमित फेला परेका छन्। यस्तै, सुनसरी २ सय ३ जना संक्रमितसहित दोस्रो धेरै प्रभावित जिल्ला बनेको छ।
निर्देशनालयको तथ्यांक अनुसार पहाडी तथा हिमाली जिल्लाहरूमा पनि संक्रमण फैलिएको छ। ओखलढुंगामा १ सय २२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २० र संखुवासभामा १८ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी धनकुटामा ४, सोलुखुम्बु र तेह्रथुममा ३–३ तथा ताप्लेजुङमा १ जनामा संक्रमण देखिएको छ।
उक्त अवधिमा विभिन्न जिल्लाका अस्पतालहरूमा डेंगुका ५१ वटा सम्भावित र २ वटा शंकास्पद बिरामी उपचाररत रहेको निर्देशनालयले जनाएको छ। संक्रमणको बढ्दो जोखिमलाई नियन्त्रणमा लिन लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई तीव्रता दिनुपर्ने स्वास्थ्य अधिकृत लुईँटेलले बताए ।




