spot_img

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्व खोइ? रास्वपासँग जेनजी नेता साहको प्रश्न

spot_img
spot_img

वीरगंज,२७ असाेज । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेसी दलित समुदायको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूमाथि प्रश्न गरेका छन् । संविधानले समानता र समावेशिताको प्रत्याभूति गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको उनको आरोप छ ।

काठमाडौंको धुम्बाराहीमा समृद्धि ग्लोबल फाउन्डेसनले मंगलबार आयोजना गरेको ‘संविधानमा समानता, व्यवहारमा विभेद : जातीय छुवाछुत अन्त्यका चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै साहले प्रतिनिधित्व, आरक्षण र सामाजिक न्यायका सवालमा विद्यमान व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।

उनले देशभर मधेसी दलित समुदायको जनसंख्या करिब साढे ५ प्रतिशत रहेको दाबी गर्दै प्रतिनिधिसभामा उनीहरूको प्रतिनिधित्व नहुनु गम्भीर विषय भएको बताए । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले समेत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको आरोप थियो ।

साहले रास्वपाका सभापति रवि लामिछानेमाथि प्रश्न गर्दै भने, ‘दुई तिहाइको संख्या भएको रास्वपाका सभापति रवि लामिछानेले किन एउटा पनि मधेसी दलितलाई ल्याउन सकेनन्?’

उनले सरकारी भाषाको व्यवस्था, आरक्षणको लाभ वितरण र महिला प्रतिनिधित्वका विषयमा पनि प्रश्न उठाए । महिलाको जनसंख्या ५१ प्रतिशत रहेको अवस्थामा संविधान तथा कानुनमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था किन गरिएको हो भन्ने उनको जिज्ञासा थियो ।

साहले संविधान निर्माण प्रक्रियामाथि समेत असन्तुष्टि जनाए । दोस्रो जनआन्दोलनपछि गणतान्त्रिक व्यवस्था स्थापना गर्ने उद्देश्य राखिए पनि संविधान निर्माणका क्रममा पुरानो व्यवस्थाका पक्षधर शक्तिसँग सम्झौता गरिएको उनको दाबी थियो ।

संविधानले समानता र समावेशिताको ग्यारेन्टी गरे पनि आम नागरिकले त्यसको अनुभूति गर्न नसकेको उनले बताए । जातीय विभेद, प्रतिनिधित्वमा असमानता र सामाजिक न्यायका समस्या समाधान गर्न संवैधानिक व्यवस्था तथा त्यसको कार्यान्वयनमा सुधार आवश्यक रहेको उनको धारणा थियो ।

जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाप्रति पनि साहले असन्तुष्टि व्यक्त गरे । २०८२ सालको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले पुरानै संवैधानिक संरचनाअनुसार काम गरेको र तत्कालीन सरकार तथा राष्ट्रपतिबीच भएको सम्झौताले आन्दोलनको मर्ममाथि प्रहार गरेको उनको आरोप थियो ।

उनले जातीय विभेद अन्त्य, समावेशी प्रतिनिधित्व सुनिश्चितता र सामाजिक न्याय स्थापनाका लागि वर्तमान संवैधानिक व्यवस्थाको संरचना तथा कार्यान्वयनमा परिवर्तन आवश्यक रहेको बताए ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय